गत मङ्गलवार काठमाडौँको नयाँ बानेश्वरस्थित संसद भवन बाहिर ब्यस्त सडकको बीचमा इलामका प्रेमप्रसाद आचार्यले आफैलाई आगो लगाउनुभयो ।
उहाँको उपचारको क्रममा भोलिपल्ट मृत्यु भयो ।
आचार्यले सामाजिक सञ्जालमा लेखेको सन्देशका आधारमा सरकारले छानबिन प्रक्रिया अघि बढाइसकेको छ ।
सडकबीच प्रेमप्रसाद जलिरहँदासमेत अरु मानिसले बचाउनका लागि कुनै प्रतिक्रिया नजनाएको भिडिओमा देखिन्छ ।
उहाँको मृत्युका अनेक कारण हुनसक्नछन् । तर शरीरमा लागेको आगो तत्कालै निभाउन पहल नगर्नु पनि एउटा कारण पक्कै हो । यसलाई नकार्न सकिँदैन ।
त्यससोभए आगो लागेको मानिसलाई बढी चोट पुग्न नदिन अर्को मानिसले तत्काल केही गर्न सक्छ ? के जलेको मानिसलाई सम्भावित मृत्युबाट जोगाउन सकिँदैन ?
जलनमा परेको मानिस उपचारपछि बाँचेको खबर किन सुनिँदैन ? जलेको चोट लिएर अस्पताल पुग्नुअघि प्राथमिक उपचार हुन्छ कि हुँदैन ?
यस्तै प्रश्न लिएर हामिले जलनसम्बन्धी चोटको उपचारका विज्ञ प्राध्यापक डा. शंकरमान राईलाई भेट्यौँ ।