जुम्ला । जुम्लाका विशाल बस्ती मध्यको एक हो, ‘रारा गाउँ’ । जुन तिला गाउँपालिकाको १ नम्बर वडामा छ ।
प्राय माटोका छत भएका घर, लस्करै जोडिएका बाडा, कमेरो र रातो माटोले पोतिएका भित्ताले ‘रारा गाउँ’ लाई सुन्दर देखाइरहेका छन् । प्राकृतिक सुन्दरताले भरिपूर्ण यो गाउँका बासिन्दा पिउने पानीको भने अभाव सहन बाध्य छन् ।
‘रारागाउँ’ मुगुको चर्चित ताल रारासँग मेल खाए पनि गाउँको कथा अलि भिन्न छ ।
२०७८ को तथ्याङ्क अनुसार रारामा २ सय ६८ घरधुरी छ । जहाँ १ हजार ६ सय २६ जनसङ्ख्या छ ।
हेर्दामा सुन्दर यो गाउँ आधारभूत सुविधाबाट वञ्चित छ । १६ सयभन्दा धेरै जनसङ्ख्या रहेको यो गाउँमा पानीको मुहान छैन ।
४३ वर्षअघि बनेको दुम्कली खानेपानी आयोजनाको मुल सुक्दै गए पछि गाउँमा पानीको अभाव सुरु भएको स्थानीय नन्दबहादुर बुढाको भनाइ छ ।
गाउँमा चार धारा छन् । ती धारामा पानी आउँछ दैनिक २ घण्टा मात्र । पानी थाप्न भाँडाहरूको लामो लाइन लाग्छ ।