चितवनको खोलेसिमल बजारमा दसैँको चहलपहल छ ।
किनमेल गर्नेहरूको भीड भएकाले व्यापारीहरूलाई भ्याइनभ्याइ छ । तर बजार छेउको बस्तीमा प्रायः दलित समुदायका नागरिक बस्छन् ।
बस्तीमा न दसैँको रौनक छ, न किनमेलको उत्साह ।
कालो त्रिपालले बारेका स–साना टहराहरूमा दसैँले खुसी भन्दा पनि पीडा थपिदिन्छ । पिँढीमा बसिरहनुभएका फुलमाया विकलाई दसैँ नआइदिए हुन्थ्यो जस्तो लाग्छ ।
चाडबाडको बेला छोराछोरीको निन्याउरो अनुहार देख्दा, मन कुँडिएर आउने उहाँ बताउनुहुन्छ ।
२०७२ सालको भूकम्पले घर भत्काएपछि जुटपानीमा २९ परिवारलाई नगरपालिकाले टहरा बनाएर राखेको थियो ।
उनीहरू ७ वर्षदेखि जसोतसो बस्दै आएका छन् ।
घरखर्चको जोहो गर्न नसक्नेहरूका लागि चाडपर्वको खुसी जुटाउने सामथ्र्य नै नभएको स्थानीय वीरबहादुर विश्वकर्माको भनाइ छ ।
कालिका नगरपालिका वडा नम्बर ७ का इन्द्रमाया विकलाई पनि अभाव धेरै र आपूर्तिक कम हुने भएका कारण दसैँ पीडा बोकेर आउने पर्व होजस्तो लाग्छ ।
सात जनाको परिवार छ । घरमा नातीनातिना छन् । दसैँ आयो, मीठो खाने भन्दै पिँढीतिर कुदिरहन्छन् ।
आम्दानीको स्रोत भनेकै पुख्र्यौली आरन पेशा हो । दुईचार थान फलामका औजार बिक्री भए केटाकेटीका अनुहारमा खुसी छाउँछ, नत्र रुँदै बस्नुको विकल्प छैन ।