महोत्तरीका चन्नी राईको मुख्य पेसा कृषि हो ।
अघिल्ला वर्षमा असार लाग्दा रोपाइँको चटारो हुन्थ्यो । तर, यसपटक पानी नपरेपछि फुर्सदभन्दा पनि छछटपटी धेरै छ ।
उहाँ भन्नुहुन्छ, ‘यसपटक पानी नपरेका कारण रोपाइँ नै गर्न सकेको छैन । वर्षभरिलाई गुजारा चलाउन पनि समस्या होला जस्तो छ । यस्तै घाम लागि रहने भने रोपेको अन्नमा उत्पादन कस्तो होला भन्ने पनि थाहा छैन ।’
धनुषाका हरिनारायण साहको समस्या पनि चन्नीको भन्दा फरक छैन । पुख्र्यौली पेशाको रूपमा कृषि भए पनि पछिल्ला दिनमा खेत बटैया लगाएको उहाँले बताउनुभयो ।
साह भन्नुहुन्छ, ‘पानी नै यसपटक परेको छैन । जसले गर्दा रोपाइँ पनि भएको छैन । अब साउनसम्म पनि पानी परेन भने त समस्या छ । पानी नै नहुँदा खेत सबै सुक्खा भइसक्यो । लगाएका धानका बिउ पनि सुक्ने बेला हुँदैछ ।’
रोपाइँको समयमा पर्याप्त पानी पर्ने हो भने झारपात नउम्रिने र यसले गोडमेलमा सजिलो हुने किसानहरू बताउँछन् ।
तर यसपाली असार जाने बेलासम्म पनि पानी परेको छैन । जसका कारण रोपाइँ गर्न नपाएको सर्लाहीका किसान हरिश्याम रायको भनाइ छ ।
खेत सबै सुक्खा भएर रोपाइँ नै हुन नसकेकोमा उहाँ चिन्तित हुनुहुन्छ ।
मधेश प्रदेशमा यसपटक समयमै पानी नपर्दा किसानहरू चिन्तित बनेका छन् । रोपाइँका लागि उत्तम मानिने असार महिना सकिनै लाग्दा पनि मधेशका किसानहरूले रोपाइँ गर्नका लागि चाहिने सिँचाइ नहुँदा चिन्तित बनेका हुन् ।