नेकपा माओवादी केन्द्रमा आवद्ध हुनुभएका सिन्धुलीका बिरु लामा यसपटक कमलामाई नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष पदको उम्मेद्वार बन्ने तयारी गर्दै हुनुहुन्छ ।
उहाँलाई पार्टीले टिकट दिने कुरामा शङ्का छैन । तर खर्चको विषयमा भने चिन्ता छ । ‘विपक्षी उम्मेद्वारले पाँच लाख रुपैयाँ लिएर चुनावी मैदानमा आउँछ भने मैले पनि त्यही हाराहारीमा खर्च गर्नुपर्छ । योचाहिँ गलत हो ।’ तामाङले भन्नुभयो ।
अपाङ्गता भएका व्यक्तिलाई शारीरिक हिसाबले प्रचारप्रसारदेखि अरु व्यवस्थापनका काममा तुलनात्मक रूपमा समस्या हुन्छ । पार्टीले टिकट दिने विषयमै अर्को तनाव त्यसमा पनि आर्थिक भार थपिँदा झनै समस्या हुने अपाङ्गता भएका व्यक्तिहरूको भनाइ छ ।
जोहना प्रसाद थारु बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ बाट वडा सदस्य पदका लागि नेकपा एमालेको तर्फबाट सिफारिसमा पर्नुभएको छ ।
निर्वाचनमा विजयी भए आफूले गर्ने कामबारे उहाँले योजना पनि बनाइसक्नुभएको छ ।
अपाङ्गता भएका व्यक्ति स्वयं अघि बढिरहेका छन् भने उनीहरूलाई धेरै सङ्ख्यामा जिताउने गरी राजनीतिक दल अन्तगर्तको भ्रातृ सङ्गठनहरूले पनि दवाव दिइरहेका छन् ।
नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय अपाङ्गता सङ्गठन नेपालका उपाध्यक्ष कृष्ण गौतम क्षमता भएका अपाङ्गता भएका व्यक्तिलाई बढीभन्दा बढी उम्मेद्वार बनाउन पार्टी नेतृत्वसँग छलफल गरिरहेको बताउनुहुन्छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा १ जना प्रमुख, २ जना उपप्रमुख, ४ जना वडा अध्यक्ष, १३ जना सदस्यमा अपाङ्गता भएका व्यक्ति निर्वाचित भएका थिए ।
नेपाली काँग्रेसमा देशभर ६ हजारभन्दा बढी अपाङ्गता भएका व्यक्ति क्रियाशील सदस्य छन् ।
यसपटकको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिको सहभागिता बढाउने गरी पार्टीसँग छलफल भइरहेको राष्ट्रिय लोकतान्त्रीक अपाङ्ग सङ्घका सभापति भोजराज श्रेष्ठले बताउनुभयो ।
माओवादी केन्द्रले एउटा स्थानीय तहमा एक जना उम्मेद्वार अपाङ्गता भएका व्यक्ति र प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष पदको हकमा प्रत्यक प्रदेशमा एक जना अपाङ्गता भएका व्यक्तिलाई उम्मेद्वार बनाउने तयारी गरिरहेको छ ।
अपाङ्गता सङ्गठन नेपालका अध्यक्ष टीकाराम पराजुली नेकपा माओवादी केन्द्रले अपाङ्गता भएका व्यक्तिलाई सधैँ प्रोत्साहन गरिरहेको दावी गर्नुहुन्छ ।