नेपालका परराष्ट्रमन्त्री एनपी साउदले चीनले आफ्नो नक्सामा नेपालको नयाँ नक्सा नसमेटेको विषयले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणमा कुनै न कुनै रूपमा प्रवेश पाउन सक्ने बीबीसीलाई बताएका छन्।
चीनअगाडि प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाँदैछन्।
त्यहाँबाट स्वदेश फर्किनुअघि उनी सिधै द्विपक्षीय भ्रमणका लागि चीन पुग्ने कार्यक्रम रहेको छ।
उक्त भ्रमणका बेला चीनले हालै सार्वजनिक गरेको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा नसमेटिएको कुरा उठ्नसक्ने परराष्ट्रमन्त्री साउदले बताएका हुन्।
आउँदो साताबाट हुने दुई महत्त्वपूर्ण भ्रमणअगाडि नेपालको नयाँ नक्सा चीनले नसमेटेको विषय बाहेक नेपालमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने विषय पनि चर्चामा रहेको छ।
यसै सन्दर्भमा परराष्ट्रमन्त्री एनपी साउदसँग राष्ट्रसङ्घीय महासभामा नेपालले यसपटक के कुरा उठाउँदैछ भनेर प्रदीप बस्यालले सोधेका छन्।