शैक्षिक प्रमाणपत्र किर्तेसम्बन्धी आरोपमा पक्राउ परेका सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्मा पक्राउ परेको भोलिपल्ट थुनामुक्त भएका छन्। कांग्रेस संसदीय दलको बैठकमा शर्माको गिरफ्तारीप्रति चर्को असन्तुष्टि जाहेर भएकै दिन उनलाई काठमाण्डू जिल्ला अदालतले थुनाबाहिरै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीवार पक्राउ गरेको थियो। अदालतको आदेश आउनुअघि शुक्रवार संसदीय दलको बैठकमा बोल्दै कांग्रेसका कतिपय सांसदले शर्मालाई पक्राउ गरिएकोप्रति गम्भीर आपत्ति जनाए। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै केही सांसदले शर्माको गिरफ्तारी "प्रतिशोधपूर्ण" र "संशययुक्त" भएको बताए। यसै सन्दर्भमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई आफ्ना सांसदको गिरफ्तारीप्रति तपाईँहरूले आपत्ति नै जनाउनुपर्ने कारण के हो भनेर गनी अन्सारीले सोधेका छन्।