कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएसँगै उनको सरकारले निरन्तरता पाएको छ। प्रदेशसभामा कायम ९३ मध्ये ७७ जना सदस्य मतदानमा उपस्थित भएकोमा थापाको पक्षमा जम्मा ४७ मत खस्यो। बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पनि नेकपा माओवादी केन्द्रकी सांसद गीता तिम्सिनालाई केही समय अध्यक्षता गर्ने जिम्मा दिएर मतदानमा भाग लिए। तिम्सिनाले आफूले मतदान गरिसकेपछि केही समय बैठकको अध्यक्षता गरिन्। विपक्षी नेकपा एमाले र राप्रपाका सांसदले उक्त कदमको विरोध गर्दै प्रदेशसभामा नाराबाजी गरे। नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले गठबन्धनको पक्षमा बहुमत पुर्याउन नदिन अपनाएको उपाय निष्प्रभावी तुल्याउन फेरि कोशी प्रदेशमा सभामुखलाई उपयोग गर्ने सूत्र प्रयोग गरेको थियो। सङ्घीयताको अभ्यासको सिलसिलामा खासगरी कोशी प्रदेशमा पछिल्लो समय भएका घटनाक्रमबारे धेरैले प्रश्न गरिरहेका छन्। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले सङ्घीयताविद् पिताम्बर शर्मालाई पछिल्ला घटनाक्रमलाई तपाईँले कसरी हेर्नुभएको छ भनेर सोधेका छन्।